सुधार तथा व्यवस्थापन महाशाखा
सुधार तथा व्यवस्थापन महाशाखा अन्तर्गतका शाखाहरुको स्वीकृत कार्यविवरण देहाय बमोजिम रहेको छ:
भन्सार सुधार तथा अन्तर्राष्ट्रिय सम्बन्ध शाखा
- भन्सार सुधार तथा आधुनिकीकरणको दीर्घकालीन योजना तर्जुमा र सोको प्रगति अनुगमन गर्ने ।
- दीर्घकालीन कार्ययोजना अनुसार भन्सार सुधार तथा आधुनिकीकरणका आयोजना पहिचान तथा सञ्चालित आयोजनाको प्रगति अनुगमन गर्ने ।
- भन्सार विभाग एवम् भन्सार कार्यालयको वार्षिक योजनामा भन्सार सुधार तथा आधुनिकीकरण रणनीति एवम् कार्ययोजना एकीकृत गर्ने गराउने ।
- दीर्घकालिन कार्ययोजनाहरूको लागि आन्तरिक तथा वैदेशिक स्रोतको समन्वय सम्बन्धी कार्य गर्ने ।
- भन्सार प्रशासनसँग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका संघ संस्थाबीच समन्वय सम्बन्धी कार्य गर्ने ।
- विभाग र कार्यालयहरूको वार्षिक कार्ययोजना अनुसार सम्पन्न कार्यहरू समेटी विभागको वार्षिक प्रगति प्रतिवेदन तयार गर्ने ।
- व्यापार सहजीकरण सम्बन्धी बैठक आयोजना र सो सम्बन्धी कार्यक्रमहरूमा सहभागीता जनाउने ।
- नियमित टार्इम रिलिज अध्ययन गर्ने गराउने ।
- भन्सार सरोकारवालाहरूसँगको सहकार्य प्रवर्द्धन र सुधार गर्ने गराउने ।
- अन्य मुलुकका भन्सार प्रशासनहरूसँग सूचना आदानप्रदान गर्ने गराउने ।
- एकीकृत जाँच चौकी र सुक्खा बन्दरगाहहरू सम्बन्धी कार्य गर्ने ।
- समन्वयात्मक सीमा व्यवस्थापन सम्बन्धी कार्य गर्ने ।
- भन्सार सुधार तथा आधुनिकीकरण सम्बन्धी अन्तर्राष्ट्रिय उत्तम प्रचलनहरू नविन अवधारणा, नीति निर्माण तथा कार्यान्वयन आदि विषयमा पृष्ठपोषण, अध्ययन अनुसन्धान र सो सम्बन्धी कार्यक्रममा भन्सारको तर्फबाट सहभागीता हुने ।
- भन्सारसँग सम्बन्धित अन्तर्राष्ट्रिय संघ संस्थाहरू WCO, WTO आदिसँग समन्वय तथा सम्पर्क स्थापित गर्ने ।
- भन्सार विभागबाट भारत, बंगलादेश र चीनको स्वशासित क्षेत्र तिब्बतसँग वार्षिक रूपमा हुने द्विपक्षीय वार्ताको आयोजना, संयोजन, निर्णयको अभिलेख कार्यान्वयन र सोको प्रतिवेदन सम्बन्धी कार्य गर्ने ।
भन्सार मूल्याङ्कन तथा पुनरावलोकन शाखा
- नेपालमा पैठारी हुने मुख्य मुख्य वस्तुहरूको अन्तर्राष्ट्रिय बजार मूल्यको अद्यावधिक जानकारी राख्ने।
- विभिन्न भन्सार नाकाबाट जाँचपास भई छुटेका मालवस्तुहरूको मूल्याङ्कन अनुगमन गर्ने गराउने।
- सबै भन्सार नाकाबाट छुटेका एकै किसिमका मालवस्तुको मूल्यमा एकरुपता कायम गराउने।
- भन्सार नाकाबाट छुटेका सामानको मूल्याङ्कन धेरै फरक पर्न गएको अवस्थामा त्यस्तो भन्सार महसुल निर्धारण आदेश संशोधन गर्न महानिर्देशक समक्ष सिफारिस गर्ने।
- विश्व व्यापार सङ्गठनको मूल्याङ्कन नीतिको कार्यान्वयन गर्ने गराउने।
- भन्सार मूल्याङ्कन निर्देशिका अद्यावधिक गरी राख्ने।
- भन्सार मूल्यसूची (Database) परिपालना गर्ने गराउने।
- मूल्याङ्कन पुनरावलोकन समितिको सचिवालयको रुपमा कार्य गर्ने।
- भन्सार विभागमा केन्द्रीय मूल्याङ्कन डाटाबेशको स्थापना गरी प्रयोग गर्ने र भन्सार र अन्य अधिकारीहरूलाई पहुँच उपलव्ध गर्ने गराउने।
- भन्सार मूल्याङ्कनमा देखा पर्ने समस्या समाधान गरी मूल्याङ्कनमा एकरूपता कायम गर्न आवश्यकता अनुसार भन्सार व्यवस्थापन गोष्ठी आयोजना गरी मूल्य सूचना अद्यावधिक गर्ने।
- भन्सार जाँचपासपछिको परीक्षण (PCA) गर्नुपर्ने फर्म, वस्तु तथा कन्साइन्मेन्टको छनौट गरी सम्बन्धित कार्यालयमा पठाउने, भन्सार जाँचपासपछिको परीक्षणको निर्देशिका अद्यावधिक गरी भन्सार जाँचपासपछिको परीक्षण सम्बन्धी अनुगमन एवम् नियन्त्रणात्मक कार्य गर्ने।
- बजार सर्वेक्षण सम्बन्धी कार्यहरू गर्ने।
- छनौट भएका उच्च जोखिमका मालवस्तुको लागि ट्यारिफ स्पेसिफिकेशन कोड (TSC) विकास गर्ने, ASYCUDA World प्रणालीमा मूल्याङ्कन डाटावेश मोड्यूललाई कार्गो जाँचपाससँग आवद्ध गर्न ट्यारिफ स्पेसिफिकेशन कोड (TSC) विकास गर्ने गराउने, TSC प्रयोग गर्न सक्ने गरी भन्सार एजेण्टको क्षमता विकास गर्ने, TSC बारे हुने सोधपुछको तत्काल जवाफ दिन सक्ने गरी सेवाग्राही सेवाकक्षको क्षमता विकास गर्ने र समय समयमा आवश्यकता अनुसार TSC अद्यावधिक गर्ने।
- जोखिममा आधारित छनौट पद्धति अपनाई भएको जाँचपासको आधारमा भन्सार जाँचपासपछिको परीक्षण गर्नु पर्ने कन्साइन्मेन्टको छनौट गरी सम्बन्धित कार्यालयमा पठाउने।
अनुसन्धान तथा अनुपालन शाखा
- भन्सार ऐन नियम कार्यविधि र प्रक्रियाको परिपालना गर्न गराउन Curative र Preventive Measures बाट अनुसन्धान, विश्लेषण गरी पहिचान गर्ने र कार्यान्वयन गर्ने गराउने।
- व्यापारिक छलको अनुसन्धान, विश्लेषण र कारवाही गर्ने गराउने।
- भन्सार अनुसन्धान कार्यविधि, २०७५ मा तोकिएका कार्यहरु गर्ने।
- नेपाल सरकारका निगरानी निकायहरु बीच सम्पर्क (फोकल) शाखाको रुपमा कार्य गर्ने।
- भन्सारका साझेदार निकायहरुसँग अनुसन्धान (Investigation) सम्बन्धी सूचना आदानप्रदान गर्ने।
- चोरी निकासी पैठारी सम्वद्ध निकाय, व्यक्ति, क्षेत्र आदिको पहिचान गरी डाटावेस तयार गर्ने गराउने।
- निकासी पैठारी व्यापारको प्रवृति र त्यसले चोरी निकासी पैठारी र राजस्व परिचालनमा पार्न सक्ने प्रभावको सूक्ष्म अध्ययन गरी विश्लेषण प्रतिवेदन महानिर्देशक समक्ष पेश गर्ने।
- परिपालना व्यवस्थापन/स्वेच्छिक परिपालना व्यवस्थापन एवम् कार्यान्वयन गर्न गराउन देहायको कार्य गर्ने।
- परिपालना रणनीति दस्तावेज तयार/अद्यावधिक गर्ने गराउने।
- सेवाग्राही/व्यवसायी Segmentation विधि परिभाषित गर्ने गराउने र आवश्यकता अनुसार अद्यावधिक गर्ने गराउने।
- सम्भाव्य प्रोत्साहन, रोकथाम र नियन्त्रणात्मक उपायहरू विकास गर्ने गराउने र आवश्यकता अनुसार अद्यावधिक गर्ने गराउने।
- स्वेच्छिक परिपालनाको लागि सुविधाको व्यवस्था (कम निरीक्षण, ग्रीन लेन आदि) एवम् कार्यान्वयनको अनुगमन गर्ने गराउने।
- आधिकारिक व्यवसायी र आधिकारिक आर्थिक सञ्चालकलाई लागू हुने भन्दा पृथक सबै पक्षको लागि लागू हुने परिपालना मापदण्ड तयार गरी कार्यान्वयन गर्ने र आवश्यकता अनुसार अद्यावधिक गर्ने गराउने।
- परिपालना व्यवस्थापन/स्वेच्छिक परिपालना कार्यान्वयन गर्ने गराउने।
- परिपालना व्यवस्थापनको नतिजा मापन गर्न मुख्य कार्य सम्पादन सूचकहरू तयार गर्ने गराउने।
- परिपालना नगर्नेहरूको नियमित अनलाइन अनुगमन गर्ने गराउने।
- परिपालना नगर्नेहरू समेतको जोखिममा आधारित जाँचपास परीक्षण गर्न आवश्यक सूचना जाँचपास परीक्षण कार्यालयमा पठाउने व्यवस्था गर्ने गराउने।
- पैठारीकर्ता एवम् निकासीकर्ताहरूलाई उनीहरूको अधिकार र कर्तव्य तथा परिपालना रणनीतिको प्रभावबारे बोध गराउन सुशिक्षित एवम् सुसूचित गर्ने
गराउने।
- परिपालना रणनीति र यसका फाईदा भन्सार विभागको वेभसाईट एवम् केन्द्रीय र स्थानीय व्यापार सहजीकरण समिति मार्फत सुसूचित गर्ने गराउने।
- परिपालना रणनीति आन्तरिक राजस्व विभागसँग आवद्ध गर्ने गराउने।
- कर्मचारीहरूमा सदाचार अभिवृद्धि गर्न कर्मचारीको आचरण निगरानी गर्ने आन्तरिक कार्यविधि तयार गरी डाटावेस तयार गर्ने र आवश्यकता अनुसार महानिर्देशक समक्ष पेश गर्ने।
- समाजमा सदैव भन्सार प्रशासनको छवि उच्च राख्न कर्मचारीहरूको सदाचार सम्बन्धी अध्ययन, अनुसन्धान एवम् परीक्षण गर्ने।
- सदाचार योजना तर्जुमा तथा अनुगमन गरी सदाचार अभिवृद्धि प्रतिवेदन महानिर्देशक समक्ष प्रस्तुत गर्ने गराउने।
- भन्सार प्रशासनमा संलग्न कर्मचारीहरूबाट निर्दिष्ट आचरण, अनुशासन एवम् आचारसंहिता परिपालना भए नभएको सम्बन्धमा अनुगमन एवम् आन्तरिक परीक्षण गरी आचरण सम्बन्धी विवरण र सूचना प्राप्त गर्ने र अभिलेख राख्ने।
- कर्मचारीहरूको काम कारवाहीका सम्बन्धमा प्राप्त भएका जनगुनासो, पत्रपत्रिका एवम् मिडियामा प्रसारित समाचारहरूको अभिलेख राखी आवश्यक छानविन एवम् परीक्षण गर्ने।
- निजामती सेवा ऐन, नियममा निर्दिष्ट आचरणको परिपालना, राष्ट्रसेवक कर्मचारीहरूको आचारसंहिताको परिपालना, भन्सार प्रशासनमा संलग्न कर्मचारीहरूको आचारसंहिता एवम् अन्तर्राष्ट्रिय भन्सार सङ्गठनबाट लागू गरिएको आचारसंहिताको परिपालना तथा सरकारी सम्पत्तिको उपयोग र संरक्षण सम्बन्धी व्यवस्थाको मूल्याङ्कन गरी सुधारको लागि आवश्यक सुझाव दिने।
- कर्मचारीको सदाचार र आचरणको अनुगमनबाट प्राप्त प्रतिवेदन कार्यान्वयनका लागि आवश्यक योजना बनाइ महानिर्देशक समक्ष पेश गर्ने।
- अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट कर्मचारीहरुको छानबिनको लागि लेखिआएका भन्सार कार्यालयहरूका उजुरी (विभागीय कार्यबाहीको लागि लेखिआएको बाहेक) सम्बन्धमा छानबिन सम्बन्धी कार्य गर्ने।
- राष्ट्रिय सतर्कता केन्द्र, हेल्लो सरकारबाट प्राप्त उजुरी सम्बन्धमा छानबिन सम्बन्धी कार्य गर्ने।
- शाखाबाट सञ्चालन हुने कार्यक्रमहरूको कार्ययोजना बनाई कार्यान्वयन गर्ने।
अनुगमन शाखा
- भन्सार कार्यालयहरूमा प्रविष्ट हुने भन्सार प्रज्ञापनपत्र र कागजात अनलाइन अनुगमन गर्न दक्ष अधिकृतहरूबाट घोषित सबै प्रज्ञापनपत्र र कागजातको (समानान्तर रूपमा वर्गीकरण टोली, मूल्याङ्कन टोली र कार्य प्रक्रिया टोली गठन गरी) अनुगमन गर्ने र तत्काल भन्सार कार्यालयलाई सुधारका लागि सुसूचित गर्ने गराउने।
- भन्सार कार्यालयहरूमा घोषणा तथा दर्ता भएका मालवस्तुको अनलाइन जाँच गर्दा प्राप्त सूचना तत्काल अन्य सम्वद्ध शाखाहरू र अन्य सम्वद्ध भन्सार कार्यालयलाई सूसुचित गर्ने।
- आइ.पी. क्यामेरा मार्फत भन्सार कार्यालयहरुको अनुगमनको कार्य गर्ने।
- अनुगमनबाट देखिएका कैफियतको सुधारका लागि सम्बन्धित भन्सार कार्यालयमा प्रेषित गर्ने।
- अनलाइन जाँच गर्दा प्राप्त विसंगतिलार्इ सम्बन्धित कार्यालयमा पठाएकोमा सोको भौतिक परीक्षण र कागजात जाँचमा खटिएका कर्मचारीहरुको लगत तयार गर्ने।
- अनलाइन अनुगमनको प्रगति नियमित रुपमा महानिर्देशक समक्ष पेश गर्ने।
- कार्यालयको राजस्व सङ्कलन लक्ष्य प्राप्त गर्न भन्सार कार्यालयहरुको असुलीको अनुगमन र पृष्ठपोषण गर्ने।
- राजस्व सङ्कलनको तत्कालीन र दीर्घकालीन रणनीति तर्जुमा गर्ने।
- भन्सार कार्यालयहरूको लक्ष्य प्रक्षेपण र निर्धारण गर्ने।
- भन्सार कार्यालयहरुवाट प्राप्त दैनिक, साप्ताहिक, मासिक प्रतिवेदन, विवरणको आधारमा कानून बमोजिम भन्सार सम्बन्धी काम कारवाही भए नभएको सम्बन्धमा अनुगमन, निरीक्षण गर्ने गराउने, आवश्यकता अनुसार थप प्रमाण वा पुष्ट्याईं प्राप्त गरी कार्यान्वयन गर्ने।
- नीति कार्यक्रम लगायतको मासिक र वार्षिक प्रगति विवरण तयार गरी सम्बन्धित निकायमा पठाउने।
जोखिम व्यवस्थापन शाखा
- जोखिम व्यवस्थापनको लागि जोखिमको प्रोफाइल तयार गर्ने र समय समयमा अद्यावधिक गर्ने गराउने।
- जोखिमयुक्त सामानको प्रकार, पैठारी हुने देश, पैठारी गर्ने व्यक्ति/कम्पनी, निकासी गर्ने देश/व्यक्ति/कम्पनीको सूची (Database) तयार गर्ने र समय समयमा अद्यावधिक गर्ने गराउने।
- बिभिन्न निकायबाट प्राप्त सूचना विश्लेषण गरी प्रणालीमा आवद्ध गर्ने गराउने।
- जोखिम प्रोफाइललाई आशिकुडा वर्ल्डको कार्यगत (Selectivity) मोडलमा समावेश गर्ने।
- छनौट प्रणाली प्रभावकारी ढंगले लागू गर्ने कार्यविधि तर्जूमा एवम् परिमार्जन गर्ने।
- भन्सार जाँचपासमा Inspection note मा उल्लेख गरिएका कैफियतहरूलाई सूक्ष्म मूल्याङ्कन गरी आवश्यकता अनुसार छनौटका सूचकमा समावेश गर्ने।
- भन्सार कार्यालयमा जोखिम व्यवस्थापन एकाई गठन गर्ने गराउने।
- भन्सार कार्यालयहरूको स्तरमा देखिन सक्ने सम्भाव्य जोखिमका क्षेत्रहरू पहिचान गरी भन्सार कार्यालयको जोखिम व्यवस्थापन इकाईलाई पृष्ठपोषण गर्ने।
- छनौट प्रणालीबाट प्राप्त परिमाण र राजस्व सङ्कलनको अवस्था मूल्याङ्कन गरी सूचकहरू अध्यावधिक गर्ने।
- आशिकुडामा छनौट प्रणालीको तालिकालाई नियमित अध्यावधिक गर्ने।
- जोखिम व्यवस्थापन सम्बन्धी सूचना मूल्याङ्कन, महसुल, अनुगमन आदि सम्वद्ध शाखाहरू र भन्सार कार्यालयलाई सुसुचित गर्ने गराउने।
- कार्यगत (Selectivity) मोड्युल लागू भएको सुनिश्चित गर्न कार्ययोजना बनाई लागू गर्ने गराउने।
- अनुगमन शाखा एवम् भन्सार जाँचपास परीक्षण कार्यालयसँग निकटतम रहि जोखिममा आधारित व्यवस्थापन पद्धतिमा आधारित कार्य सम्पन्न गर्ने गराउने।
- जोखिममा आधारित व्यवस्थापन पद्धति अपनाई भएको जाँचपासको आधारमा जोखिम लेखाजोखा कार्ययोजना बनाई कार्यान्वयन गर्ने गराउने।
- जोखिम व्यवस्थापनको लागि उपलब्ध सूचनाको आधारमा जोखिम व्यवस्थापन सूचक तयार गरी भन्सार कार्यालयमा कार्यान्वयनको लागि पठाउने र त्यसको अनुगमन गर्ने तथा समय समयमा त्यसमा पुनरावलोकन गर्ने।
- भन्सार कार्यालयहरू एवम् नेपालभित्र रहेका इन्टेलिजेन्स सम्बन्धी अन्य संस्थासँग समन्वय राख्ने र एक आपसमा सूचना आदानप्रदान गर्ने।
- नेपालको ठूलो व्यापार साझेदार भारत, चीन र अन्य देशका भन्सार इन्टेलिजेन्स सम्बन्धी अन्य संस्थासँग समन्वय राखी सूचना आदानप्रदान गर्ने।
- इन्टेलिजेन्सबाट प्राप्त सूचना व्यवस्थापनमार्फत जोखिम व्यवस्थापन, मूल्याङ्कन, महसुल, अनुगमन आदि सम्वद्ध शाखाहरू र भन्सार कार्यालयलाई सुसूचित गर्ने गराउने।
- भन्सार कार्यालयमा रहेको जोखिम व्यवस्थापन इकाईसँग सम्पर्क स्थापित गर्ने र सूचना आदानप्रदान गर्ने व्यवस्था गर्ने।
आर्थिक प्रशासन शाखा
- सम्बन्धित शाखा र कार्यालयसँग समन्वय गरी विभाग एवम् कार्यालयहरूका लागि चालू र पूँजीगत खर्चको बजेट तर्जुमा गरी पेश गर्ने र विनियोजित बजेट बाँडफाँट एवम् खर्च गर्ने।
- विभागको लेखा व्यवस्थापन, लेखापालन, आन्तरिक लेखापरीक्षण एवम् अन्तिम लेखापरीक्षणको कार्य गर्ने गराउने।
- आन्तरिक र बाह्य लेखापरीक्षणमा उठाइएका बेरूजु सम्बन्धित व्यक्ति, शाखा र कार्यालयसँग प्रमाण तथा पुष्ट्यार्इँहरु माग गरी फर्छ्यौट तथा फरफारकको लागि सिफारिश गर्न राय पेश गर्ने।
- विनियोजन हिसाबको लागि आवश्यक मास्केवारी तथा अन्य फाँटवारी नियमित रूपमा तयार गर्ने गराउने र सम्बन्धित निकायमा समयमै पठाउने व्यवस्था गर्ने।
- विनियोजन बजेट अन्तर्गतका महालेखा नियन्त्रक कार्यालय वा कोष तथा लेखा नियन्त्रक कार्यालयबाट रकम निकासा र सो सम्बन्धी कार्य गर्ने।
- स्वीकृत वार्षिक कार्यक्रममा आवश्यकता अनुसार संशोधनको लागि जिल्लास्थित कार्यालयहरूबाट पुष्ट्यार्इँ सहित अनुरोध भर्इ आएमा कार्यक्रम संशोधनको लागि पेश गर्ने।
- पूँजिगत तथा चालू खर्चतर्फ विनियोजन गरेको बजेटबाट आवश्यकता अनुसार रकमान्तर/स्रोतान्तर सम्बन्धी कार्य गर्ने।
- खरीद शीर्षकमा विनियोजित रकमको नियमित प्रगति अनुगमन गर्ने तथा सुधारात्मक कार्यको लागि विभागका शाखा एवम् कार्यालयमा सिफारिस गर्ने गराउने।
- भन्सार विभाग एवम् कार्यालयको चौमासिक बित्तीय प्रगति तयार गरी सुधारका क्षेत्र सिफारिस सहित उपमहानिर्देशक समक्ष प्रस्तुत गर्ने गराउने।
- जिन्सी व्यवस्थापनतर्फ विभागको खर्च भएर जाने र नजाने सामग्रीहरूको जिन्सी व्यवस्थापन गर्ने, विभागको भौतिक सम्पत्तीहरूको संरक्षण गर्ने, तोकिएको ढाँचामा जिन्सी स्रेस्ताहरू राख्ने, तोकिएको ढाँचामा जिन्सी सम्बन्धी प्रतिवेदनहरू तयार गर्ने।
- आर्थिक प्रशासन सम्बन्धमा राय माग गरिएका विषयहरुमा राय दिने।
सामान्य प्रशासन तथा जनशक्ति विकाश शाखा
- कर्मचारीहरूको व्यक्तिगत विवरण सहितको अभिलेख फाइल एवम् कर्मचारी सूचना प्रणाली (PIS) अद्यावधिक गर्ने।
- कर्मचारीहरूको पदस्थापन, सरूवा, काज खटाउने व्यवस्था गर्ने।
- विभागको आन्तरिक व्यवस्थापन सरसफाई, विद्युत, पानी, टेलिफोन, इन्टरनेट लगायतका सुविधाहरूको व्यवस्था मिलाउने।
- भौतिक पूर्वाधार सुधार गुरूयोजना कार्यान्वयन गर्दै भन्सारमा आवश्यक पूर्वाधार विकास गर्ने गराउने।
- विभागमा आवश्यक पर्ने जिन्सी सामानहरूको लागि खरीद योजना बनाई सोही अनुरूप खरीद गरी वितरणको व्यवस्था मिलाउने।
- विभागको लागि आवश्यक पर्ने भौतिक सुविधाको (Infrastructure Development) व्यवस्था मिलाउने एवम् सोको अभिलेख राख्ने।
- घर जग्गा प्राप्त गर्न जग्गा प्राप्ति ऐन बमोजिम कार्य गर्ने।
- भन्सार प्रशासनको खरीद प्रक्रिया प्रभावकारी बनाउन खरीद योजना र खरीद कार्य योजना अनुरूप विभाग र अन्तर्गतका कार्यालयको खरीद व्यवस्थापनको अनुगमन गरी उपमहानिर्देशक समक्ष चौमासिक खरीद प्रगति प्रतिवेदन प्रस्तुत गर्ने।
- खरीद बिज्ञको दक्षतालाई परिचालन गर्ने गराउने।
- भन्सार सुधार तथा आधुनिकीकरणकका लागि आवश्यकता अनुसार समय समयमा सङ्गठन पुनःसंरचना गर्ने गराउने।
- सार्वजनिक खरीद एकाईका कार्यहरू सम्पादन गर्ने।
- भन्सार कार्यालयबाट जफत भई लिलामी गर्नु पर्ने सवारी साधन तथा यन्त्र उपकरणहरुको मूल्याङ्कनमा सहयोग गर्ने।
- भन्सार विभाग र कार्यालयहरुलाई विपक्ष बनाएर दायर भएका मुद्दामा महान्याधिवक्ताको कार्यालयसँग समन्वय गरी मुद्दाको प्रतिरक्षा गर्ने।
- आवश्यकता अनुसार विभागलाई मुद्दा सम्बन्धी कानूनी परामर्श दिने।
- सम्बन्धित पक्षहरूका प्रतिनिधि वा संघसंस्थाका सुझावहरूलाई ध्यानमा राखी ऐन नियमहरूको तर्जुमा र संशोधन गर्न राय सुझाव प्रदान गर्ने।
- भन्सार कार्यालयहरुको भौतिक तथा जिन्सी र प्रशासनिक अनुगमन गरी प्रतिवेदन तयार गर्ने।
- ऐन नियमको प्रारम्भिक मस्यौदा तयार पारी सम्बन्धित निकायमा पठाउने।
- सम्मानित सर्वोच्च अदालतबाट कायम नजिर सम्बन्धी निर्णयहरूको लगत विवरण अद्यावधिक गर्ने।
- विभागको प्रशासनिक निर्णयका सम्बन्धमा आवश्यक राय तथा परामर्श उपलब्ध गर्ने गराउने।
- भन्सार विभाग र अन्तर्गतका कार्यालयहरूमा कार्यरत जनशक्तिहरूको अध्ययन तथा तालिम आवश्यकताको पहिचान गर्ने र तालिम सञ्चालन गर्ने।
- भन्सार प्रशासन सम्बन्धी अभिलेख व्यवस्थापन गर्ने।
- तालिम कार्यक्रमका मोड्यूलहरू तयार गर्ने र समय समयमा अद्यावधिक गर्ने।
- विषय विशेषज्ञहरूको रोष्टर विकास गरी उपयोग गर्ने।
- तालिम तथा अध्ययनको लागि आवश्यकीय प्रशासनिक कार्यहरू गर्ने।
- जनशक्ति विकास योजना र अन्य जनशक्ति विकास सम्बन्धी कार्यहरू गर्ने।
नेपाल राष्ट्रिय एकद्वार प्रणाली आयोजना कार्यान्वयन इकाई
- नेपाल राष्ट्रिय एकद्वार प्रणाली (Nepal National Single Window) मा जोडिने निकायहरुको LPCO Modules तयार गर्न तथा गुणस्तर निर्धारण गर्न सम्बन्धित निकाय तथा विकासकर्ता कम्पनी एवम् परामर्शदाता कम्पनीहरुबीच आवश्यक सहजीकरण गर्ने।
- प्रणाली भएको निकायहरुका प्रणालीलाई API मार्फत नेपाल राष्ट्रिय एकद्वार प्रणालीसँग आवद्वता गर्न विकासकर्ता कम्पनीलाई आवश्यक सहजीकरण गर्ने।
- नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा जोडिने निकायहरुको कर्मचारीहरुलाई एकद्वार प्रणाली सञ्चालन सम्बन्धी तालिम प्रदान गर्ने।
- विद्यमान ASYCUDA WORLD सँग आवद्ध (Interface) हुने गरी नेपाल राष्ट्रिय एकद्वार प्रणाली विकास गर्न विकासकर्ता कम्पनीलाई आवश्यक सहजीकरण गर्ने।
- विकासकर्ता कम्पनीसँग गरिएको सम्झौता बमोजिम नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा जोडिने निकायहरुको विद्यमान स्रोत अभावलाई पूरा गर्न कम्प्युटर सेट, प्रिन्टर, यु.पि.एस., टेबल तथा कुर्सी जस्ता वस्तु तथा उपकरणहरू प्रदान गर्ने।
- नेपाल राष्ट्रिय एकद्वार प्रणालीको प्रभावकारी सञ्चालनको लागि भन्सार विभाग र सरोकारवाला निकयहरुबीच आपसी समझदारी पत्र हस्ताक्षर गराउन सहजीकरण गर्ने गराउने।
तथ्याङ्क विश्लेषण शाखा
- भन्सार कार्यालयबाट मासिक रूपमा प्राप्त गर्नुपर्ने पैठारी परिमाण, निकासी परिमाण, राजस्व असुली सम्बन्धी तथ्याङ्क सङ्कलनको लागि खाका (Standard Format) तयार गर्ने र सोही खाकामा सम्पूर्ण भन्सार नाकाबाट तथ्याङ्क उपलब्ध गर्ने।
- मासिक एवम् वार्षिक वस्तु व्यापार तथ्याङ्क नियमित प्रकाशन गर्ने।
- भन्सार विभागको वार्षिक तथ्याङ्क प्रतिवेदन तयार गर्ने।
- निकासी पैठारी विवरण नियमित सङ्कलन, भण्डारण तथा विश्लेषण गर्ने।
- शाखाबाट सञ्चालन हुने कार्यक्रमहरूको कार्ययोजना बनाई कार्यान्वयन गर्ने।